1) जन्म दर्ताः

नेपाली बाबुआमाबाट विदेशमा जन्मिएका बच्चाको जन्म दर्ता र विदेशमा मृत्यु भएका नेपाली नागरिकको मृत्यु दर्ता प्रमाणपत्र आवश्यक भएमा राजदूतावासबाट प्राप्त गर्न सकिन्छ । यस्तो व्यक्तिगत घटना दर्ताको लागि बच्चा जन्मिएको वा घटना भएको ३५ दिनभित्र राजदूतावासमा निवेदन गर्नुपर्दछ।

जन्म दर्ताका लागि आवश्यक पर्ने कागजातहरूः

  • अस्पतालद्वारा जारी भएको बच्चाको जन्म प्रमाणपत्र (अङ्ग्रेजी भाषामा)
  • बच्चाको बुबा र आमा दुवैको नेपाली नागरिकता प्रमाणपत्र र राहदानीको फोटोकपी
  • बच्चाको बुबा र आमा दुवैको एलियन रजिष्ट्रेशन कार्डको फोटोकपी
  • विवाहदर्ता प्रमाणपत्रको फोटोकपी
  • https://public.donidcr.gov.np/ मा लग-इन गरी रीतपूर्वक भरेको जन्म दर्ता सूचना फाराम (Birth Registration Information Form) र उक्त पोर्टलमार्फत प्राप्त टोकन नम्बर
  • जन्म दर्ता दस्तुरः बच्चा जन्मिएको ३५ दिनभित्रः निःशुल्क

३५ दिन कटेको हकमाः कोरियन वन- ४०,०००।-

(अनलाइन पोर्टलबाट प्राप्त उक्त टोकन नम्बर र माथि उल्लेख भएका सबै कागजातहरूको एक/एक प्रति फोटोकपीसमेत लिएर बच्चाको बुबा वा आमामध्ये एकजना स्वयं राजदूतावासमा उपस्थित हुनुपर्नेछ।)

जन्म दर्ता प्रमाणपत्रमा संशोधन गर्नुपरेमा वा प्रतिलिपि आवश्यक परेको खण्डमा भने यस राजदूतावासमा जन्मदर्ता भएका बच्चाको हकमा मात्र आवश्यक दस्तुर लिई प्रमाणपत्र संशोधन गरिने वा प्रतिलिपि दिइने छ।

नोट: दक्षिण कोरियामा जन्मिएका बच्चाको नेपालमा जन्म दर्ता गर्नुपरेमा बच्चाको जन्म प्रमाणपत्रलाई दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयबाट प्रमाणित गराई यस राजदूतावासबाट प्रमाणीकरण गरी उक्त कागजात नेपाल पठाउनुपर्नेछ । साथै उक्त कागजात नेपालको कन्सुलर सेवा विभाग त्रिपुरेश्वरबाट थप प्रमाणीकरण गरी आफ्नो सम्बन्धित वडा कार्यालयमा पेस गर्नुपर्नेछ ।

यस राजदूतावासमा जन्म दर्ता गरिसकेकाको हकमा नेपालमा पुनः जन्मदर्ता गराइरहनु पर्दैन ।

2) मृत्यु दर्ता

मृत्यु दर्ताका लागि आवश्यक कागजातहरूः

  • मृतकको नागरिकता/नाबालक परिचयपत्र र राहदानी प्रमाणपत्रको प्रतिलिपि
  • सूचकको नागरिकता र राहदानीको प्रतिलिपि
  • स्वास्थ्य संस्था/अस्पतालमा मृत्यु भएको भए उक्त संस्थाबाट जारी प्रतिवेदन (अङ्ग्रेजी भाषामा हुनुपर्ने)।
  • अन्यत्र मृत्यु भएको भए स्थानीय प्रहरीबाट जारी प्रतिवेदन (अङ्ग्रेजी भाषामा हुनुपर्ने)।
  • https://public.donidcr.gov.np/ मा लग-इन गरी रीतपूर्वक भरेको मृत्युदर्ता सूचना फाराम (Death Registration Information Form) र उक्त पोर्टलमार्फत प्राप्त टोकन नम्बर
  • दस्तुरः घटना घटेको ३५ दिन भित्रः निःशुल्क

३५ दिन कटेको हकमाः कोरियन वन- ४०,०००।-